नागरिक पोष्ट News


चैत्र कृष्ण औँसीका दिनमा मनाइने घोडेजात्रा एक विशेष पर्व

1.2K

- देवेन्द्र अर्याल आँसु

काठमाडौं । काठमाडौँ उपत्यका विभिन्न चाडपर्वको एउटा जीवन्त संग्रहालय हो । यहाँ वर्ष भरिमा थुप्रै जात्रा मनाइन्छ त्यस मध्येको एउटा प्रमुख जात्रा हो  घोडेजात्रा । नेपाली लोकजीवनमा यस जात्राको आफ्नै महत्व रहेको छ । यस जात्रासँग विविध प्रसङ्ग पनि जोडिएको पाइन्छ ।  हिन्दू संस्कृतिमा विभिन्न जीवजन्तुसँग जोडिएका पर्व र जात्रा मनाउने चलन छ । त्यस्तै मध्येको चैत्र कृष्ण औँसीका दिनमा मनाइने घोडेजात्रा पनि एक हो । घोडेजात्रा अर्थात् घोडाको जात्रा । यो नेवार समुदायको प्रमुख जात्रा भए पनि लोकले यसलाई धूमधामले मनाएको पाइन्छ । पाँहाचह्रे पर्वका रुपमा नेवारी समुदायमा यो पर्व परापूर्वकालदेखि नै मनाउन थालिएको पाइन्छ । उपत्यकाका प्रायः सबै नेवारी बस्तीमा यो पर्व विशेष धुमधामसँग मनाइन्छ । 

यसदिन भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । लुकुमहाद्योका रुपमा शिवजीको पूजा गर्ने प्रचलन नेवार समुदायमा धेरै पहिलेदेखि नै चलिआएको परम्परा हो । यस अवसरमा नेवारी समुदाय काठमाडौँको टुँडिखेलनजिकै रहेको लुकुद्यो महादेवको विशेष पूजाअर्चना गर्दछन् । यस अवसरमा नेवारी समुदायमा एकआपसमा भेटघाट गरी भोजभत्तेर खाने रमाइलो गर्ने पनि गरिन्छ । पाहुनाहरुलाई बोलाएर भोज गर्नुका साथै टोलटोलमा घोडेजात्राका अवसरमा विभिन्न देवी देवताको खटजात्रा पनि निकालिन्छ । काठमाडौँ उपत्यकामा यस दिन प्राचीन नेवारी बस्तीहरुमा खटजात्राको रौनक विशेषप्रकारको देखिन्छ । 

यस अवसरमा भद्रकाली मन्दिर अगाडि रहेको टुँडिखेलमा घोडा दौडाएर राक्षस भगाउने गरिन्छ । प्रारम्भमा टुँडि नामको राक्षसले यहाँ धेरै दुःख दिएका कारण उक्त राक्षसलाई घोडाको टापले कुल्चेर मारेको हुनाले त्यसै बेलादेखि घोडेजात्रा मनाउन थालिएको हो भन्ने जनश्रुति लोकजीवनमा चलेको पाइन्छ । यस दिन काठामाडौँको टुँडिखेलमा नेपाली सेनाले विभिन्न कलाबाजी खेल, अश्वकला र घोडदौड प्रदर्शन गर्ने गर्दछन् । इतिहासमा उल्लेख भएअनुसार घोडेजात्राको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा काठमाडौँ उपत्यकाका तीनै शहरमा भव्यरुपमा मनाइन्छ । यस दिन उपत्यकामा सरकारी बिदा पनि दिइने गरिन्छ । 

पाटन नगरमा पनि घोडे जात्रा मनाइन्छ । तर यस दिन पाटन सहरमा मनाइने घोडेजात्रा उपत्यकाको अन्य स्थानको भन्दा पृथक खालको रहेको छ ।  जहाँ एउटामात्र घोडा कुदाएर घोडेजात्रा मनाउने प्रचलन छ । यसबाट नेपाली लोकजीवनमा जहाँ जसरी घोडेजात्रा मनाए पनि त्यसको आफ्नै महत्व रहेको देखिन्छ र त्यसलाई नेपाली लोकजीवनले सहजै स्वीकार गरेको देखिन्छ । यस पर्वका अवसरमा देखिने रौनक, खुसी, सद्भावले पनि घोडेजात्राको धार्मिक एवम् सामाजिक महत्व ज्यादै नै रहेको प्रतीत हुन्छ । खास गरी पाँहाचह्रे पर्वलाई नेवारी संस्कृतिमा पाहुना डाक्ने र भोज खुवाउने संस्कृतिसँग पनि जोडेर हेरिएको पाइन्छ । योे पर्व नेवारी समुदायको ज्यादै महत्वपूर्ण पर्व रहेको प्रतीत हुन्छ । काठमाडौँ उपत्यकाका धर्मस्थलीमा यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरिन्छ । जुन जात्रा हेर्न उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु आउने गर्दछन् ।

Must View