चालू आवमा एमसीए नेपालको समष्टिगत प्रगति करिब ७ प्रतिशत
काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)को चालू आर्थिक वर्षको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ६.९७ प्रतिशत रहेको छ । करिब रू. ७४ अर्ब ३४ करोडको आयोजना रहेकोमा हालसम्म करिब पाँच अर्ब १८ करोड खर्च भएको बताइएको छ । समितिले हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक रहेको एमसिए नेपालका कार्यकारी अधिकृत खड्गबहादुर विष्टले जानकारी दिएका छन् । ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतवारको बैठकमा जानकारी दिइएको छ ।
बैठकमा प्रसारण लाइनअन्तर्गत नुवाकोटको रातमाटे, रुपन्देहीको बुटवल र तनहुँको दमौलीमा बनाउन पर्ने सबस्टेसन निर्माण ठेक्काका लागि १० दिनभित्रै बोलपत्र आह्वान हुने, प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि परामर्श सेवाको बोलपत्रको सूचना प्रकाशित गर्ने तथा इन्टरनेसनल रफनेस इन्डेक्स उपकरण खरिदका लागि करार सम्झौता भई सामान आपूर्तिको चरणमा रहेको जानकारी दिइएको छ ।
आयोजनाले १० जिल्लामा जग्गाको मुआब्जा निर्धारण समिति गठन गरी दर घोषणा, जग्गा आयोजनाको नाममा दर्ता, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण र मुआब्जा वितरण, वन क्षेत्रमा हटाउनुपर्ने रूख गणना लगायतका कार्यलाई मुख्य क्रियाकलापका रुपमा राखेको छ ।