नागरिक पोष्ट News


आशावादी स्वर बोकेको चलचित्र : द स्पोन्सर

1.7K

- देवेन्द्र अर्याल ‘आँसु’

भुईमान्छेको कथाव्यथा समेटिएको द स्पोन्सर निफ महोत्सवमा प्रदर्शन भएको छ । जसमा कोशीका किनारमा माछा मारेर जीवन गुजारा गर्ने गरिबीले आक्रान्त एउटा गुडी समुदायको कथा जीवन्त रुपमा उनका छन् प्रणय लिम्बूले । यस कथाको मुख्य पात्र ९ वर्षकी कौशिकीको हो । जो अनाथ छे, ऊ आफ्नी हजुरआमा र काकाको सहारामा सप्तकोशी नदीको किनार निर्जन संसारमा जीवन बिताउन बाध्य भएकी छे । उनीहरुको परिवार नदीको माछामाथि निर्भर छ । ऊ आफ्नो स्पोन्सरसँग अमेरिका जाने सुन्दर सपनालाई सँगालेर बसेकी हुन्छे । तर स्पोन्सरको असामयिक मृत्युका कारण उसको सपना केवल सपनामा सीमित बन्न पुग्दछ । चरम गरिबीले बास गरेको कौशिकीको संसारमा एकदिन एउटा गैरसरकारी संस्थाका प्रतिनिधि विकास पात्रको प्रवेश हुन्छ ।

गैरसरकारी संस्थाका प्रतिनिधि विकासका कारण बालिकाको जीवन र पारिवारिक सम्बन्धमा केही परिवर्तन, सोच र एकअर्थमा उथलपुथल नै ल्याइदिन्छ । यी गैरसहकारीका प्रतिनिधि कौशिकीलाई अमेरिकी स्पोन्सरले पठाएका चिठ्ठी र उपहारहरूहरु ल्याइदिन्छन् र उनका सन्देश सुनाउने बाहक हुन्छन् । स्पोन्सरको मृत्युपछि गैरसरकारी संस्थाको प्रतिनिधि विकासमा देखिएको मानसिक तनाबले उनीहरुको सुन्दर घरसंसारलाई समेत प्रभाव पार्दै लगेको हुन्छ । द स्पोन्सर कौशिकीको पितातुल्य अमेरिकी स्पोन्सरसँग भेटने उत्कट चाहनाको अभिव्यक्ति हो, जसले उनलाई यो अभाव र गरिबीको संसारबाट मुक्त गरेर अमेरिका लैजाने वाचा गरेको हुन्छ । तर, गहिराइमा भने यस चलचित्रमा सहयोगका नाममा गरिबको भावना र त्यहाँको सामाजिक भाष्यमाथि खेलबाड गरिएको मात्र छैन जसमा गरिबी र जोखिममा रहेका कौशिकीजस्ताहरूलाई ‘प्याट्रोनाइज (संरक्षण)’ गर्ने गैरसरकारी संस्था र शहरी मध्यमवर्गीय सोच माथि चोटिलो व्यङ्ग्य प्रकार पनि गरिएको छ ।

चलचित्रको छायांकन जाडो, सुख्खा र वर्षा तिनै मौसममा गरिएको छ भने यस चलचित्रको पृष्ठभूमिमा सप्तकोशी नदी रहेको छ । विषयवस्तु छनौटमा मौलिकता, कथावाचन र दृष्य भाषाको प्रस्तुतीमा नवीनता एवम् छायांकनमा मोलिएका जोखिम पक्कै पनि सह्रानीय छन् । कथा नदीतटमा माछा मारेर जीवन गुजारा गर्ने गुडी जातिको एउटा बालिकाको मनोविज्ञानलाई चित्रण गरिएको कथा हो । जसमा गैरसरकारी संस्थाका प्रतिनिधिको उदात्त भावना पनि भेट्टिन्छ । के सबै गैरसरकारी संस्थाका प्रतिनिधि विकास जस्तै हुन्छन् त भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ ।

कसरी गरिबीका बस्तीमा सहयोगका नाममा सान्ताक्लाज पुगेको छ भन्ने प्रश्न पनि यसले उठाएको छ । सबैभन्दा ठूलो विषय वस्तु त कोशीमा माछा घट्दै जानु रहेको छ । यसप्रति कसैको चिन्ता छैन र कसैले चिन्ता लिएको छैन भन्ने प्रश्नलाई परोक्षरुपमा उठाइएको छ । यो विश्वव्यापी संकट कोशीमा पनि व्याप्त रहेको कथामा लेखकले वातावरणीय दृष्टिले प्रस्तुत गरेको नवीन शैली हो । कोशी किनारमा आश्रित कौशिकीको परिवारको रुग्ण आर्थिक र सामाजिक अवस्थाका साथै कथामा पर्यावरणीय, सांस्कृतिक आदि पक्षलाई पनि सटिक दृष्टिमा उद्घाटन गर्न कथाकार सफल भएका छन् । ९ वर्षे कौशिकीको अभिनय जीवन्त छ । अन्त्यमा विकासका दम्पती नै कौशिकीका संरक्षक बन्छन् र कथानक अन्त्य हुन्छ । विषय वस्तु, प्रस्तुति र प्रयोगका हिसाबले यो नेपाली चलचित्र उद्योगका लागि द स्पोन्सर एउटा पृथक खालको चलचित्र बन्न पुगेको छ ।

Must View