नागरिक पोष्ट News


रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति

847

काठमाडौं। जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन्।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए।

Must View