राज लिम्बूको एघार वर्षपछि भगवान भेटिँदाको खुशी
शारीरिक अपांगता मध्येको सबैभन्दा दुःखद अपाङ्गता भनेको दृष्टिविहीन हुनु हो भनेर भनिन्छ, किनकि जीवनका अनुभव मध्ये दुईतिहाइ भन्दा बढी अनुभवहरु मानिसले आँखाको माध्यमबाट लिइरहेको हुन्छ। त्यसमा पनि जन्मजात दृष्टिविहीन हुनुको पिडा भन्दा जिवनमा पछि गएर दृष्टि गुमाउनुको पिडा धेरै गाढा हुन्छ, किनकि आफुले आँखाको माध्यमबाट देखिरहेको, भोगिरहेको सुनौलो संसार एकाएक निष्पट अँध्यारो हुन पुग्छ।
१० बर्षको उमेरमै मोतिबिन्दुको कारणले आफ्नो दृष्टि गुमाउनपुगेका राज लिम्बू यस्तै अन्धकारपुर्ण जीवन जिउन अभिसप्त थिए। तर उनले दृष्टि गुमाएको ११ वर्षपछि भगवानको रुप लिएर उनलाई दृष्टि दान गर्न उनको गाउँ आइपुगे डा. सन्दुक रुइत र उनको टिम। लालीगुराँस नगरपालिकाको निमन्त्रणामा तिलगंगा आँखा अस्पतालको आखाँ शिविरको नेतृत्व गर्दै पुगेका डा. सन्दुक रुइत र डा. होमको टिमले २२३ भन्दा बढी व्यक्तिको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउँदै गर्दा भाग्यमानी भएका मध्येका राज लिम्बू पनि एक थिए।
डा. रुइतले उनको आँखाको पट्टी हटाए पश्चात उनले खुशीले गदगद हुँदै अङ्कमाल गरेर डा. रुइतलाई धन्यवाद दिएर खुशी साट्दै गर्दाको दृश्यले सबैलाई भावविह्ल बनाएको थियो। सायद यस्तै हजारौं राज लिम्बुहरूको आशिर्वादले नै डा. सन्दुक रुइतलाई दृष्टिका देवता बनाएको हो।
Story: Mayjan Namdung/Atank Basnet