नागरिक पोष्ट News


२१६ मेगावाटको माथिल्लो त्रिशूलीमा डाइभर्सन टनेलको काम सम्पन्न

518

काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल ९सुरुङ०को निर्माण पूरा भएको छ । ४२० मिटर लामो र ५ मिटर गोलाइको उक्त टनेलको निर्माण पूरा भएसँगै आयोजनाले बाँधको काम शुरू गरेको छ । टनेल निर्माणसँगै मंगलवारदेखि सोही टनेलबाट त्रिशूली नदी फर्काएर बाँध निर्माण शुरू गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० टेई हाक युनले जानकारी दिए ।

‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ र टेलरेस सुरुङसहित सुरुङको जम्मा लम्बाइ १३ दशमलव ५ किलोमिटर रहेको छ । अहिलेसम्म ४ दशमलव ५ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘यस अवसरमा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं । तोकिएकै समयमा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको छ ।’ आयोजनाको भूमिगत विद्युत्गृह खन्ने काम करीब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पुसदेखि शुरू गरिएको थियो । आयोजना निर्माणमा हाल करीब ७०० कामदार परिचालित छन् । त्यसमध्ये करीब ३०० कामदार रसुवाका स्थानीय बासिन्दा छन् ।

आयोजना निर्माणका लागि इन्जिनीयरिङ, खरीद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ रसुवाकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीबाट लगानी जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर ९निर्माण अवधिको ब्याजसहित० रहेको आयोजनामा ९ अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत््को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ९फार्म० ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मङ्सिरमा सक्ने लक्ष्य राखिएको छ ।

Must View