जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने
युक्रेन, १२ फागुन । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।
भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ ।
एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले किएभको भ्रमण गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि किएभ पुगेका छन् ।