नागरिक पोष्ट News


राष्ट्रपतिमा कांग्रेसको हिस्सा पक्का, देउवा, पौडेल र सिटौला मध्ये कसले बाजी मार्ला ?

574

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै उम्मेदवार को हो भन्ने चासो बढेको छ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेसले कसलाई अगाडि बढाउला भन्ने चासो बढेको हो । 

पुस १० मा भएको समझदारी अनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अडान एमालेले नछाडेपछि माओवादी केन्द्रले कांग्रेसलाई सघाउने निर्णय लिएको छ । कांग्रेस–माओवादीसहित उल्लेख्य मतभार रहेका दलहरुको गठबन्धन बनेपछि यो गठबन्धनका उम्मेदवार ३१ हजार भन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने निश्चित छ । 

कुनै उम्मेदवार राष्ट्रपतिमा विजयी हुन २६ हजार ३ सय ९४ मतभार आवश्यक पर्छ । तर, शुक्रबार बनेको गठबन्धनको पक्षमा ३१ हजार भन्दा बढी मतभार रहेकाले कांग्रेस उम्मेदवार भारी मतका साथ विजयी हुने सम्भावना देखिएको छ । 

राष्ट्रपतिमा कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ, त्यो अझैसम्म एकिन भएको छैन । चर्चामा भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला छन् ।

Must View