नागरिक पोष्ट News


पूर्व राजा ज्ञानेन्द्र शाहको टिप्पणी - युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला

1.2K

काठमाडौं । प्रजातन्त्र दिवसको शुभकामना दिने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले निकै गम्भिररुपमा मुलुकको आर्थिक पक्षमाथि टिप्पणी गरे ।

ज्ञानेन्द्रले युवालाई विदेश पलायन हुन बाध्य पारेर आफूविरुद्ध हुन सक्ने विद्रोहलाई कमजोर पार्न खोजेको आरोप दलहरूलाई लगाएका छन् । उनले वक्तव्यमा उल्लेख गरेका छन्, ‘देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला ।’ 

पूर्व राजा शाहको यो टिप्पणी किन पनि अर्थपूर्ण छ भने अहिले सबैजसो राजनीतिक दलका नेताहरू युवाहरूलाई विदेश तर्फ नै पठाउन उद्धत रहेका छन् । हालैको निर्वाचनमा पूर्व प्रधानमन्त्री माधव नेपालले आफूलाई जिताए निःशुल्क वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिँदै गरेको भाषण ‘बिना ढेवा के’ निकै चर्चित बनेको थियो । तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी तथा नेपाली काङ्ग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो पार्टीलाई भोट दिए हरेक गाउँबाट १० जनालाई मलेसिया पठाइदिने आश्वासन बाडेकी थिइन्  ।

नयाँ बनेको सरकारले समेत विभिन्न मुलुकबाट श्रमिकहरूले पठाएको रेमिट्यान्सलाई नै आफ्नो उपलब्धि मान्ने र धेरै भन्दा धेरै युवाहरूलाई विदेश पठाउन सक्नुलाई सफलता ठान्ने खालका गतिविधि देखाइरहेको छ । यो परिपेक्षमा ज्ञानेन्द्रको टिप्पणी तथ्यगत र अर्थपूर्ण देखिन्छ ।

युवाहरू निराश बनेको उनको ठम्याई समेत सही नै छ । उनले भनेका छन्, ‘कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न खोज्दै छन् ।’

उनको सो वक्तव्यबारे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना मान्छे देखेर ज्ञानेन्द्र हौसिएको प्रतिक्रिया दिए ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने ज्ञानेन्द्रले नै उठाएको आर्थिक पक्षलाई प्राथमिकतामा राख्दै आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्ने बताएकी छिन् । केही वर्ष अघिसम्म ज्ञानेन्द्र चढेको गाडी अलिक छिटो दौडिदा समेत गणतन्त्रमाथि खतरा देख्ने हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आर्थिक विषयमा त्यति चिन्तित देखिएनन्, जति ज्ञानेन्द्रको वक्तव्यमा चिन्ता व्यक्त गरिएको छ । 

Must View