ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध
काठमाडौँ - ब्राजिलका पूर्वराष्ट्रपति जइर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा ९भिसा० प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् ।
पूर्वराष्ट्रपतिको अमेरिका बस्ने चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानूनी अड्चन आउने सम्भावना छन् ।
पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन दिएको समाचार उनका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत गर्दै सर्वप्रथम ‘द फाइनान्सियल टाइम्स’ ले सार्वजनिक गरेको थियो ।
गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लोरिडा पुगेका थिए । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कार्यभार सम्हाल्ने दिन थियो ।
उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उनका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुला डा सिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।
पूर्वराष्ट्रपति बोल्सोनारोमाथि उक्त आन्दोलन भड्काएकोलगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा गरेका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उनीमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।