नागरिक पोष्ट News


सन्तानेश्वरमा ११ वर्षे विराट ज्ञान महायज्ञ महोत्सव – २०७९ आयोजना हुने

1.1K

ललितपुर –  जिल्लाको गोदावरी नगरपालिका १३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा ११ वर्षे विराट ज्ञान महायज्ञ तथा शिवपूराण महोत्सव – २०७९ आयोजना हुने भएको छ। श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघको आयोजनामा यही आउने माघ १२ गते श्रीपन्चमीको दिनदेखि २२ गते स्वस्थानी समापन पूर्णिमा सम्म उक्त ११ वर्षे विराट ज्ञान महायज्ञ आयोजना गरिएको हो।

काठमाडौँ उपत्यकाभित्रको एक प्रसिद्ध शिवालय र देवस्थलको रुपमा परिचित सन्तानेश्वरमा २०४४ सालदेखि नै ११ वर्षे ज्ञान महायज्ञ सन्चालन हुँदै आईरहेको छ। यस मन्दिरको दर्शन गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने तथा सन्तान भएकाहरुको पनि सुस्वास्थ्य र दिर्घायु रहने धार्मिक मान्यता रहिआएको छ।

१२ गते श्रीपंचमीको दिन १००८ कलशयात्रा,श्रीस्वस्थानी माताको रथयात्रा तथा सन्तानेश्वर सहित नवनिर्मित मन्दिरहरुको समुद्घाटन हुनेछ। संगसंगै सन्तानेश्वर, महांकालभैरव स्वस्थानी,कुमारगणेश,मूलघण्टा,त्रिशुल तथा नवनिर्मित भजनमण्डलीको संयुक्त रुपमा समुद्घाटन हुनेछ। १३ गतेदेखि २१ गतेसम्म नियमित पूजा आरती, रुद्राभिशेक,हवन, शिवपूरान,दार्शनिक प्रवचन,भजन किर्तन सहित झाँकी एवं विविध कार्यक्रम सन्चालन हुनेछ। २२ गते श्रीस्वस्थानी पूर्णिमाको दिन नियमित पूजा आरती सहित बटुकहरुकोनिस्शुल्क ब्रतबन्ध, निस्शुल्क दम्पत्तीलाई सन्तान प्राप्ति हेतुले महाप्रसाद वितरण , यज्ञको प्रसाद वितरण सहित ८४ वर्ष पुगेका आमाहरुको ८४ पूरान गर्दै यज्ञ समापन हुनेछ।

सन्तानेश्वर महादेव मन्दिर सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ। लामो समयदेखि सन्तान नभएका दम्पत्तीले पनि यहाँको दर्शन गरेपछि सन्तान प्राप्ति भएका उदाहरणहरु प्रचलित रहेका छन्। यो मन्दिर ललितपुरको सातदोबाटोबाट ५ किलोमिटर दक्षिणपूर्व र समुद्र सतहबाट करिब १५०७ मिटरको उचाईमा रहेको छ। कैलाश पर्वतमा अवस्थित यस शिवालयबाट काठमाडौँ उपत्यकाका तीनै शहरको दृश्यावलोकन गर्न सक्ने भएकाले यसलाई प्राकृतिक भ्युटावरको रुपमा समेत लिने गरिन्छ। यसको शिवलिङ्गको पिठका दक्षिणतिर फुकेको र उत्तरतिर सुकेको रुपमा कैलाश पर्वत रहेको छ, दक्षिणतिर महादेव र पार्वती विराजमान छन्,उत्तरतिर महाङ्काल भैरवको मन्दिर अवस्थित छ । पौराणिक कालदेखि नै यहाँ अवस्थित शिलालाई महादेव पार्वती मान्दै पुजा गरिंदै आएको छ, जसको मुर्ति प्राकृतिक हो, यसलाई कहीं कतैबाट मुर्ति कुँदेर या प्राणप्रतिष्ठा गराएर राखिएको होइन। तसर्थ यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ।

औपचारिक रुपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा श्री सन्तानेश्वर महादेव संरक्षण तथा संवर्धन सेवा संघ दर्ता भएपछी यस शिवालयलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको संघका अध्यक्ष विनोद खड्का बताउछन। त्यही बेलादेखि नै नेपाल सरकारको विधिविधान बमोजिम यो चल्दै आएको छ। इन्जिनियर समेत रहेका खड्काले २०६८ मा आफू संघको अध्यक्ष भएपछी वृहत्तर गुरुयोजना सहित सन्तानेश्वरलाई धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि बढ्यो। उनीसंग पुरातात्विक तवरले संरचनाहरुको डिजाईन गर्नसक्ने ज्ञान पनि थियो।

गुरुयोजना अनुसार यहाँ ३५ वटा संरचना छन् जसको पहिलो संरचना अनुसार पशुपतिनाथकै शैलीमै निर्माण गर्ने भनेर काम सुरु गरियो। सोहीअनुसार अहिले मन्दिर निर्माण भएको छ। जसमा दुईतले तामाको छानो, चारवटा बुट्टेदार प्रवेशद्वारहरु, १६ वटा आँखीझ्यालहरु, ४८ वटा टूडाल रहेका छन्। अरु ठाउँ अनुसारका संरचनाहरु जस्तै भक्तजनहरुलाई सुख सुविधा हुने पाटीहरु,आराम गर्ने ठाउँ, शौचालय, पानीको व्यवस्थापन, भजनकीर्तनको लागि भजनमण्डली,प्रहरी चौकीको व्यवस्था लगायतका कामहरु लगभग सम्पन्न भईसकेका छन्।

Must View