एजुकेशन फन्ड तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने
काठमाण्डौँ - अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘एजुकेशन फन्ड’ तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने भएको छ। कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको संस्थाका गभर्नर पृथ्वी राज थापाले जानकारी दिए।
२ दिनसम्म राजधानीमा चलेको नेपाल डिस्ट्रिक अफ डिस्ट्रिक सम्मेलनले पैसाको अभावमा कुनै पनि बालबालिकाले शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको थापाले जानकारी दिए। सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सकारात्मक सोचका साथ अगाडि बढेको संस्थाले मानिसहरूलाई आशावादी भएर जिउन सिकाएको बताए।
हरेक काममा सम्भाव्यता प्राप्त गरि लक्ष्यमा पुग्न सकिन्छ भन्ने यो संस्थाको उद्धेश्यसँग आफू मिलेर अगाडि बढ्न तयार रहेको बताए। कार्यक्रमलाई एनप्यावसनका निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, वर्तमान अध्यक्ष पान्डवराज हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल लगायतले सम्बोधन गरेका थिए। यस्तै अतिथि वत्ताको रूपमा सुमन शाक्य र अनुप अधिकारी तथा ओम शान्तिका भाईजन राजु धलेलले सब्बोधन गरेका थिए।
सम्मेलनमा नेपाल भित्रका विभिन्न क्लवबाट ८५ जना सहभागी थिए।
क्लवका नयाँ सदस्य लाई नि. वर्तमान गभर्नर उदय कुमार निरौलाले अभिमुखिकरण तालिम दिएका थिए। उनले बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको बताए।
समाजमा के गर्न सकिन्छ भनेर छलफल गरि छलफछको निचोड लेफिटेन्ट गभर्नर ऋषिश्वर थपलिया, रिना श्रेष्ठ र सुरेन्द्र थापाले प्रस्तुती दिएका थिए। सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले सन् १७ महिना अघि ‘डिस्ट्रिक्ट’ मान्यता पाएको थियो।
अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा यसले आफ्नो शाखा विस्तार गरिसकेको छ।