राष्ट्रिय पर्व बन्यो ‘टोपी दिवस’
काठमाडौं - विश्वभर नयाँ अंग्रेजी वर्ष २०२३ धुमधाम मनाइरहँदा नेपालमा भने ढाका टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइएको छ । एक दशकअघि केही युवाको लहडमा सुरु भएको यो दिवसले अहिले राष्ट्रिय पर्व स्वरुप धारण गरिसकेको छ । प्रवासमा रहेका लाखौं नेपाली समेत दौरा सुरुवाल र ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका छन् । अझ सामाजिक सञ्जाल त ढाकाटोपीले रंगिएको छ ।
विश्व अंग्रेजी नयाँ वर्षमा झुमिरहँदा नेपाली समुदायमा मौलिक पोसाकको रौनक बढेको छ । के युवा, के युवती, के किशोर, के किशोरी ढाका टोपी लगाएर सडकमा उत्रिएका छन् । राष्ट्रिय झण्डा बोकेर पोसाक लगाएर बाजागाजासहित झाँकीमा सहभागीहरु मौलिक पोसाक प्रवद्र्धन गर्नुपर्ने धारणा राख्छन् । विश्वभर ढाका टोपीबाट नै नेपालीको पहिचान झल्कने बताउछन् ।
केही वर्षदेखि नेपाली टोपी प्रवद्र्धन गर्न भन्दै स्वतःस्फूर्त अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । यो अभियानका स्रष्टाहरु यो उपलब्धीबाट सन्तुष्ट छन् ।
इतिहासमा जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजु खुसी पार्न पहिलो पटक टोपी उपहार दिएको उल्लेख छ ।
नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । टोपी दिवसमा सामान्य अवस्थाभन्दा अलि बढी टोपी बिक्री हुने बिक्रेताहरु बताउछन् ।
यस दिन भाद्गाउँले र ढाका टोपीको प्रयोग अधिक हुने गरेको छ । पोसाकसँगै देशप्रतिको कर्तव्यलाई संगसँगै लैजानु आवश्यक छ ।