नागरिक पोष्ट News


गृहमन्त्री रवि लामिछानेको पहिलो एक्सन : नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

1.5K

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए । त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए ।

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन् ।

Must View