नागरिक पोष्ट News


आईसीटी अवार्ड २०२२ सम्पन्न : साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण

1.6K

काठमाण्डौ । सातौँ संस्करणको आईसीटी अवार्ड २०२२ काठमाण्डौमा सम्पन्न भएको छ। एक हजार बढी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको छ। लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमका रुपमा परिचित छ। 

यस वर्ष पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टर्टाअप आईसीटी अवार्डको आयोजना गरिएको थियो। उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ। विभिन्न ५ देशहरुबाट उत्कृष्ट ५ स्टार्टअप अवार्डमा सहभागी हुन नेपाल आएका थिए। 

यस वर्ष इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ अन्तर्गत नेपाली डायस्पोरा आईसीटी अवार्ड डा. वेद काफ्लेले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड मंगेशलाल श्रेष्ठले जितेका छन्। त्यसैगरी नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड विजयकृष्ठ श्रेष्ठ र एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२ शिला कंसकार कार्कीले प्राप्त गरेकी छन्। 

यस वर्षको डिजिटल गर्भनेन्स आईसीटी अवार्ड वैदेशिक रोजगार विभागले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आईसीटी अवार्ड फोनपे डिजिटलले प्राप्त गरेको छ। डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय विद्यालय वाफलले प्राप्त गरेको छ भने डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइवेट सेक्टर) ज्ञानोदय बालबाटिक विद्यालय खोकनाले जितेको छ। 

यस वर्षको ह्वावे स्टार्टअप आईसीटी अवार्ड मोनाल टेकले प्राप्त गरेको छ। प्रडक्ट आईसीटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मेरो कारोबार एपले प्राप्त गरेको छ। यस वर्षको पब्लिक च्वाइस आईसीटी अवार्ड बीआईसी टेक्नोलोजी (टिग)ले प्राप्त गरेको छ। यस वर्ष जुरीले कक्षा १० मा अध्ययनरत विद्यार्थी दीक्षान्त पाण्डेलाई जुरी मेन्सन आईसीटी रिकग्निसनबाट सम्मान गरेका छन्।

आईसीटी अवार्डका क्रममा आयोजकले सातै प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्टको आयोजना गर्दै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपहरुलाई अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा सम्मान गरेको छ। जसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक न्युट्री फुड, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपका रुपमा सम्मान गरिएको हो। 

अवार्ड वितरण कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरु डा. बैकुण्ठ अर्याल, केवल प्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए। 

यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, संघीय सरकारका सांसदहरु ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिती रहेको थियो। आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डेपुटी गर्भनर बमबहादुर मिश्र, पूर्वमन्त्री गणेश शाहलगायतका विशिष्ट व्यक्तिले विजेतालाई अवार्ड प्रदान गरेका थिए। 

Must View