नागरिक पोष्ट News


आगामी दश वर्षको औद्योगिक नीति बनाउँदै उद्योग मन्त्रालय

595

काठमाडौं - उद्योग मन्त्रालयले आगामी कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको बताएको छ । आठौं उद्योग दिवसका दिन नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरुलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीहरुको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउँदै आएको बताए । उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्दै उनले सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन आग्रह गरे । मेक इन नेपाल अभियानमा आवद्ध उत्पादनहरुलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग सचिव ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यहरुलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए ।

यस वर्षको उद्योग दिवसको नारा “औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार” रहेको छ ।

Must View