नागरिक पोष्ट News


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, आज पहिलो दिन पाँच घण्टा उडान

1K

काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन फ्लाइट अर्थात् यान्त्रिक परीक्षण उडान सुरु गरेको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम सुरु गरेको हो ।

थाइल्यान्डबाट विमानसँगै पाँचजना प्राविधिकको टोली परीक्षण उडानका लागि पोखरा आएका थिए । सात दिनसम्म हुने परीक्षण उडानको पहिलो दिन थाई जहाजले पाँच घण्टा उडान गरेको विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए ।  विशेष उपकरणजडित विमानले पहिलो दिन धावनमार्ग, लाइटसँगै अन्य उपकरणको परीक्षण गरेको थियो ।

सात दिनको परीक्षण उडानका क्रममा उक्त विमानमार्फत विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणको अवस्था कस्तो छ र तिनीहरूले ठीक ढंगले काम गरे–नगरेको जाँच हुने उनले बताए ।

सात दिनको परीक्षण उडानपछि एरो थाई कम्पनीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि मात्र व्यावसायिक उडानका लागि योग्य रहे–नरहेको थाहा हुने छ । परीक्षण उडान ६, ७, ८, ९, ११ र १२ गते पनि हुनेछ । प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे र त्यसपछि पुनः दिउसो २ः३० बजेदेखि ५ः३० बजेसम्म गरी दुई चरणमा परीक्षण उडान हुने बताइएको छ ।

Must View