निर्वाचनको वातावरण निष्पक्ष र भयरहित बनाउन कलाकारलाई आग्रह
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्।
निर्वाचनका सन्दर्भमा कलाकारहरूसँगको अन्तरक्रियाका लागि आयोगले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कलाकारहरुसँग यस्तो आहुवान गरेका हुन् ।
निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहररूले खेल्ने भूमिका प्रभावकारी हुने बताए । उनले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रुपमा योगदान दिने अपेक्षा पनि व्यक्त गरे ।
“निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ ।” ‘नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ । त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु पर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।”