मिर्गौला प्रत्यारोपण प्रकरण - वीर अस्पताल र पीडितका आफन्तबीच सहमति
काठमाडौं - वीर अस्पतालका चिकित्सकले बिरामीलाई प्रत्यारोपण गर्न दाता (आफन्त)बाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको भन्दै आफन्तले बिरोध गरेपछि अस्पताल प्रशासन र सम्बद्ध पक्षबीच सहमति भएको छ। वीर अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो। अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार अस्पतालले बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निःशुल्क गर्ने सहमति भएको छ।
मंगलबार धादिङ गल्छी गाउँपालीकाकी एक ३२ वर्षीया महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला योग्य नभएको चिकित्सकले बताएपछि आफन्तले बिहीबार अस्पताल अगाडि आन्दोलन गरेका थिए।
चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएपछि बिरामीका आफन्तले बिहीबार बिरोध गरेका थिए।
पीडितका आफन्त दिलबहादुर रम्तेलले चिकित्सकले उपचारमा हेलचेक्रयाइ गरेको बताए। उनले भने, 'पटक पटक मिर्गौला परीक्षण गर्दा ठीक छ भनिएको छ। तर, जब मिर्गौला निकालियो अनि हुँदैन भनियो। मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिने तयारी गरेका छौं।'
अस्पतालले घटनाका विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।
यस्तै सदस्यहरूमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन्।