नागरिक पोष्ट News


अमेरिकामा एकाएक चर्चित भइन् परिजिता बास्तोला, को हुन् परिजिता ?

1.6K

मेरिल्याण्ड । अमेरिकाको वहुचर्चित रियालिटी शो द भ्वाइसको व्लाइण्ड अडिसन राउण्डदेखि एकाएक चर्चाको शिखरमा रहेकी नेपाली किशोरी परिजिता बारे संसारका धेरै प्रतिष्ठित संचारमाध्यमहरुले समाचार पस्किएका छन् ।

बेलायतको चर्चित डेलिमेलले द भ्वाइसको सो अडिसनको बारेमा समाचार प्रस्तुत गर्दा मुख्य शीर्षक नै परिजिताको बनाएको छ । उसले शीर्षकमै ‘परिजिता शोमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली अमेरिकन भएको र जन लिजेण्डलाई कोचको रुपमा छनौट गरेको’ उल्लेख गरेको छ ।

‘पहिलो नेपाली अमेरिकनका रुपमा द भ्वाइसमा प्रतिष्पर्धा गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको’ भन्ने परिजिताको भनाइ पनि डेली मेलले समाचारमा उल्लेख गरेको छ । त्यसैगरी विलबोर्डले शक्तिशाली प्रस्तुति भन्दै ‘नेपाली अमेरिकन किशोरी परिजिताको गायकीबाट जजहरु छक्क परेको’ कुरा शीर्षकमै उल्लेख गरेको छ ।

परिजिताको यो प्रस्तुति र उनले आफू नेपाली अमेरिकन भएको भन्ने भनाइले संसारका चर्चित मिडियाहरुमा स्थान पाउँदा किशोर किशोरी र युवाहरुमा नेपाललाई चिनाएको छ ।

को हुन त परिजिता?

परिजिता बांस्तोला अमेरिकाको मेरिल्याण्डमै जन्मेकी हुन् । पिता पंकज बास्तोला र माता बिरा बास्तोलाकी कान्छी सन्तान हुन् उनी । हाल मेरिल्याण्डको सेभेर्ना पार्क भन्ने स्थानमा बसोबास गर्दै आएको बास्तोला परिवार नेपालको झापाबाट २५ बर्षजति अघि अमेरिका आइपुगेको हो । शुरुमा यो परिवार मेरिल्याण्डको टाउसनमा बसोवास गर्दथ्यो । उनीहरु नेपालको झापामा पनि कप्तानवाडी, शनिश्चरेबाट अमेरिका आएका थिए ।

हाल मेरिल्याण्डको सेभेर्ना पार्कस्थित सेभेर्ना पार्क हाइस्कूलमा कक्षा १२ मा पढ्ने परिजिता सानैदेखि गीत गाउने गर्थिन् । परिजिताकी आमा बिरा बास्तोलाले डिसी नेपालसँग भनिन्, ‘परिले चारबर्षकै उमेरमा गाएको गीत त्यसबेला रेकर्ड गरेर राखेका छौं । त्यसयता उनी म्युजिकमै रमाउंदै आएकी छिन् । म्युजिक नै उनको जीवन हो ।’

परिजिताका लागि म्युजिकको छुट्टै कोर्ष गराइएको छैन । तर उनी हाइस्कूलमा म्युजिकको क्लास नै लिन्छिन् । कलेजस्तरको म्युजिक क्लास हाइस्कूलमै पढ्दै गरेको आमा बिराले बताइन् । परिजिताका लागि पियानो र गिटारको क्लास भने छुट्टै टिचर राखेर पढाइएको छ ।

म्युजिकप्रतिको उनको लगावलाई देखेर उनका पियानो शिक्षकले भोकल पर्फर्मरको प्रतिभा भएकी भन्दै सो कोर्षका लागि उत्प्रेरित गर्ने गरेका थिए । उनी आफैं पियानो र गितारको माध्यमबाट आफ्नै गीतहरु कम्पोज गर्ने गर्दछिन् । अहिलेसम्म उनका आफ्नै गीतहरु भने सार्वजानिक गरिएका छैनन् । ‘उनले आफैं गीतहरु बनाएकी छिन् तर रिलिज भने गरेका छैनौं,’ बिराले भनिन् ।

पढाइमा तेज, कक्षाकी प्रेसिडेन्ट

उत्कृष्ट गायकी भएकी परिजिता पढाइमा पनि उत्तिकै तेज छिन् । आमा बिरा बास्तोलाका अनुसार, उनले विद्यालयमा उत्कृष्टता हासिल गरेर प्रेसिडेन्ट अवार्ड पनि पाएकी छिन् । त्यसैगरी हरेक परीक्षामा अनरोल अवार्ड पाउने गरेकी छिन् ।

पढाइसंगै उनले विद्यालय र समुदायमा नेतृत्व क्षमता पनि प्रदर्शन गरेकी छिन् । उनी लगातार दुई बर्ष आफ्नो कक्षाकी प्रेसिडेन्ट भएकी छिन् भने सेभेर्ना पार्क डेमोक्रेटिक क्लबको कार्यकारी सदस्य बनेर समुदायको काम र स्थानीय राजनीतिको कुरा बुझ्न थालेकी छिन् ।

१२ कक्षामा अध्ययन सेकपछि म्युजिकमै थप अध्ययन गर्न बोस्टनको बर्क्ले जस्ता कलेजहरु उनको छनौटमा परेका छन् ।

- साभार  : DCnepal.com

Must View