काठमाडौँमा बालेनको ‘ब्लास्ट’ कार्यशैली
काठमाडौँ - एउटा मेयरले चाहेको खण्डमा के कति काम गर्न सकिन्छ रु भन्ने प्रमाण काठमाडौँका मेयर बालेन शाहले विस्तारै प्रमाणित गरिरहेका छन् । जबकी कुनै बेला काठमाडौँमा सडक फराकिला बनाउन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मात्रै डोजर प्रयोग गर्ने हिम्मत गरेका थिए ।
अहिले काठमाडौँमा अवैध संरचना भत्काउन र सडक फराकिलो होइन कि नगरपालिकाबाट अनुमति नै नलिइकन बनाइएका संरचना भत्काउन मेयर बालेन शाह आफैँले डोजर चलाएका छन् । कर्मचारीमा त्यो हिम्मत नआउँला भनेर उनी आफँैले डोजर बोकेरै आफ्नै अगाडि संरचना भत्काउन लगाएका छन् ।
त्यो पनि काठमाडौँको मुटु मानिने काठमाडौँ मल, न्युरोडको आरबी कम्पलेक्स अनि दरबारमार्ग पनि । बालेनले प्रक्रियागत रुपमै अवैध संरचना भत्काएको स्पष्ट पारेका छन् । ३५ दिने सूचना निकाल्दा पनि बेवास्ता गरिएको भन्दै बालेनले डोजर लिएर अवैध संरचना भत्काउनुपरेको बताएका हुन् ।
त्यति मात्रै होइन, नक्सा पासको अनुमति नलिए काठमाडौँ जिल्ला अदालतमा पनि डोजर चलाउने चेतावनी बालेन शाहले दिएका छन् । महानगरपालिकाले अदालतसँग नक्सा पासको कागजपत्र माग गरेको छ । अहिले पार्किङमा अरु सामान राखेर सडकलाई पार्किङ बनाइएको विषयमा बालेनले ध्यानपूर्वक काम गरिरहेका छन् । यसअघि उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि डोजर चलाउन खोजेका थिए । बाहिर सडककै जग्गामा अवैध संरचना बनाएपनि बालेनले त्यो हटाउन भनेका थिए ।
तर नेपालको सबैभन्दा ठूलो घरानिया समुह चौधरी ग्रुपले सर्वोच्च अदालतमा रिट हालेर बालेनलाई डोजर चलाउन रोकेको थियो । नर्भिकमा रोकिदा बालेन अन्तका अवैध संरचना भत्काउन कम्मर कसेर लागेका छन् । यो उनको सुरुवाती कदम देखिन्छ ।