नागरिक पोष्ट News


डिजिटल भुक्तानी कारोबारमा फड्को

0.9K

काठमाडौं - प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो ।

सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै कारोबार रकमसमेत बढेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । अघिल्लो आवका तुलनामा गत आवमा क्यूआर कोडको प्रयोग गरी कारोबार सङ्ख्या चार सय प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा क्यूआर कोडको प्रयोग गरी ४२ लाख ८१ हजार नौ सय ९४ पटकमा रु १४ अर्ब ५२ करोड ६० लाखको कारोबार भएको छ, जसमा अघिल्लो आवको समीक्षा अवधिमा यसको प्रयोग आठ लाख ५५ हजार पाँच सय ६६ पटकमा रु तीन अर्ब ६५ करोड १० लाख बराबर मात्रै भएको थियो ।

त्यस्तै गत आवमा प्रिपेड कार्डका माध्यमबाट ५७ हजार नौ सय ४२ पटकमा रु ४५ करोड ८० लाख बराबरको कारोबार भएको देखिन्छ, जुन अघिल्लो आवको तुलनामा दुई सय ३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कार्डको प्रयोगबाट १७ हजार दुई सय ३१ पटकमा रु सात करोड ३० लाखको कारोबार भएको थियो ।

उपलब्ध विवरणअनुसार प्वाइन्ट अफ सेलको प्रयोग ८४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आवमा छ लाख ३५ हजार पाँच सय ९९ पटकमा रु दुई अर्ब ६६ करोड ५० लाखको कारोबार भएकामा गत आवमा ११ लाख ७३ हजार पाँच सय ४८ पटकमा रु पाँच अर्ब १८ करोड ३० लाखको कारोबार भएको छ ।

त्यस्तै कारोबारमा क्रेडिट कार्डको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक लाख २४ हजार दुई सय ४३ पटकमा रु ८५ करोड ९० लाखको कारोबार भएकामा गत आवमा दुई लाख २७ हजार नौ सय २० पटकमा रु एक अर्ब ४९ करोडको कारोबार भएको छ ।

Must View