नागरिक पोष्ट News


१०६ मेगावाटको जगदुल्ला निर्माण अघि बढाउन परामर्शदाता कम्पनी नियुक्त गर्न आशयपत्र जारी

721

काठमाडौं - १०६ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउन परामर्शदाता नियुक्त गरिने भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार आशयपत्र जारी गर्दै परामर्शदाताका लागि बोलपत्र आव्हान गरेको हो ।

इच्छुक योग्यता पुग्ने कम्पनीले भाद्र २९ गते १२ बजेसम्म आवेदन दिन सक्नेछन्। आयोजनाको ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरिभिजन, बिडिङ डकुमेन्ट लगायतको काम लागि परामर्शदाता नियुक्त गर्न लागिएको हो ।

यसबाट छनोट भएका कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव मागिने र उपयुक्त हुने एउटा कम्पनी छनोट हुनेछ । त्यसै गरि कम्पनीले साइटमा क्याम्प निर्माणका लागि समेत ठेक्का निकालेको छ ।

यो आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने जदुल्ला नदीमा निर्माण हुनेछ । आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । सुरुमा ३०७ मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । अध्ययनका क्रममा कमजोर भुगोलका कारण १०६ मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गर्न सकिने निष्कर्ष निकालिएको थियो । सोही अनुसार चार वर्ष लगाएर एनईए इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । अहिले आयोजना निर्माणको पूर्व तयारीका कामहरु भइरहेको बताइएको छ ।

सो आयोजनाले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि आवेदनको दिएको छ । एक दुई सातामा नै स्वीकृती पाउने अपेक्षामा आयोजनाका अधिकारीहरु छन्। लागत करिब २३ अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनाको फाइनान्सियल क्लोजर गर्ने तयारी भइरहेको छ । आयोजनाका लागि १६ अर्ब रुपैयाँ ऋण चाहिन्छ । ७.१ अर्ब रुपैयाँ इक्विटीबाट इन्जेक्ट गर्ने योजना छ ।

Must View