नागरिक पोष्ट News


नेवारी परिकार परम्परागत क्वाटी बनाउने तरिका

1.9K

‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक(फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास गरिन्छ ।

क्वाँटी पकाउने सबैको आ - आफ्नै तरिका हुन्छ । तर मौलिक नेवारी शैलीमा क्वाँटी यसरी पकाउन सकिन्छ :

क्वाँटी, गरम मसला, प्याज, तोरीको तेल, जिरा धनियाँको पाउडर, गेडा जिरा, नुन, बेसार, लसुन अदुवाको पेस्ट, ज्वानो, रातो धुलो खुर्सानी, मसिनो गरी काटिएको हरियो धनियाँ ।

क्वाँटीमा टुसा उमार्ने तरिका

चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि ९ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । यस्ता गेडागुडीको मिश्रण गर्नुअघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउनुपर्छ । चार दिनअघि भिजाएर भोलिपल्ट पानीबाट निकालेर सफा भाँडामा हावा नछिर्ने गरी छोपेर राख्ने वा मलमलको कपडामा बाँधेर तीन दिन झुण्डाइदिनुपर्छ । यसरी राख्दा गेडागुडीमा राम्ररी टुसा उम्रन्छ ।

नेवारी क्वाँटी पकाउने तरिका

(चार दिन भिजाएर टुसा उम्रिएको गेडागुडीलाई एउटा ठूलो भाँडामा राखेर राम्ररी पखाल्ने ।

(ग्याँस चुलोमा कुकुर बसालेर त्यसमा सफा गरिएको गेडागुडी राख्ने, झोलको मात्रा अनुसार पानी राख्ने । त्यसपछि स्वाद अनुसार नुन र बेसार राखेर बिर्को लाएर ठिक्कको आगोमा कम्तीमा पाँच सिट्ठी लगाएर आधा घण्टा पकाउने ।

(अब ग्याँस चुलोमा कराही बसाल्ने र राम्ररी तातेपछि त्यसमा थोरै तेल राखेर जिरा फुराउने । जिरा खैरो भएपछि मसिनो गरी काटिएको प्याजलाई पनि राखेर राम्ररी चलाउने ।

(प्याज पनि राम्ररी भुटिसकेपछि अदुवा लसुनको पेस्ट राखेर पनि राम्ररी चलाउने र अघि पकाएर राखिएको कुकरको क्वाँटीलाई त्यो कराहीमा खन्याउने ।

(अब बाँकी भएको मसला जिरा धनियाँको धुलो, धुलो खुर्सानी, गरम मसला राखेर राम्ररी चलाउने ।

(धेरै सुप बनाउने हो भने आवश्यकता अनुसार पानी थप्ने र राम्ररी उम्लिन दिने ।

(ग्याँस स्टोभको अर्को चुलोमा तावा बसाल्ने र त्यसमा तोरीको तेल राखेर राम्ररी खारिएपछि ज्वानो राख्ने । ज्वानो खैरो खैरो भएपछि ग्याँसलाई बन्द गर्ने र क्वाँटीमा त्यो ज्वानो राखेर झान्ने ।

(अब क्वाँटी तयार हुन्छ । त्यसपछि मसिनो गरी काटिएको हरियो धनियाँ राख्ने र ग्याँस बन्द गर्ने । यसको सुप खानासँग र खाजाको रूपमा खान सकिन्छ ।

 

Must View