नागरिक पोष्ट News


एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन  मंसिर ४ गते आईतबार हुने 

868

काठमाडौँ  - सरकारले एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन  मंसिर ४ गते आईतबार गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि निर्बाचन आयोगले यस बिसयमा जानकारी गराएको हो।  पत्रकार सम्मेलन पश्चात जारि प्रेस बिज्ञप्तिमा  आयोगले  नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग पूर्णरूपमा प्रतिवद्ध रहेको आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेल द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ । 

बिज्ञप्तिमा भनिएको छ : 

आयोगले दिएको परामर्श अनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधानिक तथा कानूनी अस्पष्टता अब सदाका लागि अन्त्य भएको छ । यसबाट आगामी आवधिक निर्वाचनको निम्ति पनि मार्ग प्रसस्त भएको प्रति आयोग खुसी व्यक्त गर्दछ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (झ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषा गरेको हुँदा निर्वाचनको मिति तोक्दा ऐनको सो व्यवस्था बमोजिम निर्वाचन हुने दिनभन्दा कम्तिमा १२० दिन अगाडिदेखि निर्वाचन अवधि कायम हुनेगरी मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको थियो । यद्यपि निर्वाचन घोषणा भएको मितिदेखि मतदान हुने दिनसम्म १०७ दिन आयोगलाई उपलब्ध भएको छ । आवधिक निर्वाचनका लागि आयोगले आन्तरिक तयारी निरन्तर गरिरहने भएकाले प्राप्त भएको १०७ दिनमा आयोग निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा सक्षम छ ।    

 मंसिर ४ गते आईतबारका लागि तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट तत्काल देहाय बमोजिमका काम अगाडि बढाइने छ  (क)    मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन मिति २०७९ साउन २० गतेदेखि स्थगित हुने छ । साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसमम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।  (ख)    मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावोलकन गरी अद्यावधिक गरिने छ ।  (ग)    नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने छ ।  (घ)    प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन बमोजिम निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरी आवश्यक कार्य गरिने छ ।  (ङ)    समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापन गरी यथाशीघ्र कार्य सुरु गरिने छ ।  (च)    निर्वाचनका लागि आवश्यक जनशक्तिको आकलन गरी विवरण संकलन तथा अद्यावधिक गरिने छ ।  (छ)    निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि यथाशीघ्र अर्थमन्त्रालय पठाइनेछ ।  (ज)    निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आह्वान गर्ने प्रक्रिया शीघ्र प्रारम्भ गरिने छ ।  (झ)    निर्वाचन प्रयोजनका लागि आवश्यक विभिन्न निर्देशिका, कार्यविधि तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ ।  अन्त्यमा, आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोग नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, आम संचार माध्यम, अन्तर्राष्ट्रिय समुदाय लगायत सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा गर्दछ । 

    (शालिग्राम शर्मा पौडेल)      सहसचिव एवं प्रवक्ता   

Must View