नागरिक पोष्ट News


आन्तरिक राजस्व विभागले पायो ६ खर्ब २६ अर्ब राजस्व असुलीको लक्ष्य

812

काठमाडौं -  आर्थिक वर्ष २०७८÷७९ मा निर्धारित लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०७९÷८० मा १४ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य पाएको छ । गत आर्थिक वर्षमा विभागले अर्थ मन्त्रालयबाट ५ खर्ब ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो । आवको अन्त्य सम्ममा ४ खर्ब ८३ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ, जुन लक्ष्यको ९० प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षमा भने विभागले ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ, जुन गत आर्थिक वर्षको भन्दा १४।१६ प्रतिशत बढी हो । गत आर्थिक वर्षमै लक्ष्यभन्दा १० प्रतिशत कम राजस्व असुली भएको र विगतका वर्षमा समेत लक्ष्यभन्दा कम राजस्व उठ्दै आएकोमा चालू आर्थिक वर्षमा पनि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए । यद्यपि प्राप्त लक्ष्य हासिल गर्ने गरी नै विभागले तयारी र पहल अघि बढाउने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा आन्तरिकतर्फका ७ शीर्षकमध्ये स्वास्थ्य सेवा कर र शिक्षाशुल्कतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ भने आयकर, मूल्यअभिवृद्धि कर, ब्याजकर, घरबहाल कर र अन्तःशुल्कतर्फ लक्ष्यभन्दा कम राजस्व असुली भएको छ ।

कोरोनाबाट प्रभावित व्यापार व्यवसाय अझै पूर्ण लयमा फर्किन नसकेको, अन्तरराष्ट्रिय वृत्तमा देखिएको आर्थिक संकटको असर, पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि लगायत कारण गत आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य प्रभावित भएको विभागका सूचना अधिकारी प्याकुरेलले बताए ।

Must View