नागरिक पोष्ट News


यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको  बाबुराम भट्टराई द्वारा घोषणा 

749

काठमाडौं  - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन् । 

‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ । हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईको विज्ञप्तिमा भनिएको छ । 

भट्टराईले  पार्टी रुपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरू लगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन् ।  भट्टराईले जसपा नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वेच्छाचारी कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुगेको उल्लेख गर्दै सोही क्रममा केन्द्रीय समितिको अलग अलग बैठक गर्ने तहसम्म पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

सोही क्रममा आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८–२९ गते सम्पन्न भएको भट्टराईको भनाइ छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ ।

तर, उपेन्द्र यादवको अध्यक्षतामा बसेको वीरगन्ज बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको उनको भनाइ छ । 

वीरगन्जमा बिहीबार सम्पन्न यादव पक्षीय बैठकले भट्टराईसहित ९ जनालाई निष्काशनको घोषणा गरेको थियो ।

Must View