‘जेरी २’ बन्दै : को बन्लिन् अनमोलको जोडी
काठमाडौँ - अभिनेता अनमोल केसी पछिल्लो समय भटाभट फिल्म साइन गरिरहेका छन् । छड्के २ छायांकनको तयारीमा रहेका अनमोलले सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् ।
सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । गत साता काठमाडौँको मेरियट होटलमा निर्माता र अनमोलबिच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।
अनमोलको दोस्रो फिल्म जेरी हो । उनको स्टारडम प्रस्ट्याउने फिल्म नै यहिँ हो । किनकि त्यस अगाडी डेब्यु फिल्ममा अनमोल गौरव पहाडी र सलोन बस्नेतसँग देखिएका थिए । हेमराजको फिल्ममा केही समय यता देखिन् मन गरिरहेका अनमोलके कथा मन परेपछि साइन गरेका हुन् । उनले फिल्मको लभ स्टोरी आफ्नो स्टारडम बढाउने विश्वास लिएका छन् ।
निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आना हुने वा नहुने विषयमा आधिकारिक रूपमा कुनै जानकारी आएको छैन । यद्यपि निर्माण पक्षले आनासँग फिल्मको विषयमा कुराकानी भने गरिरहेको छ ।
यस्तै, फिल्ममा नीति शाह हुने पनि चर्चा छ । किनकि केही समय अगाडी मात्र नीतिले अनमोलसँग फिल्म खेल्न तयार रहेको सन्देश भुवन केसीलाई पठाएकी थिइन् । नयाँ अनुहारको समेत खोजीमा रहेको निर्माण युनिटले नीति लिने सम्भावना छ । यद्यपि अझैँ अफर नगरिएको नीतिले बताएकी छिन् । ‘मलाई जेरी २ बाट अफर आएको छैन । आयो भने फिल्म गर्नेछु’ उनले हालै एक अन्तर्वार्तामा भनेकी थिइन् । फिल्मलाई २०८० सालको दसैँमा रिलिज गर्ने योजना छ ।