नागरिक पोष्ट News


प्रथम महिला खुल्ला गल्फ प्रतियोगिता २०२२ को उपाधि सुष्मा सिग्देल

1.7K

काठमाडौं - प्रथम महिला खुल्ला गल्फ प्रतियोगिता २०२२ को उपाधि सुष्मा सिग्देलले प्राप्त गर्न सफल हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबको प्राङ्गणमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । महिला खेलाडीको प्रतिस्पर्धामा विजयी हुने विजेता खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रपति भण्डारी, विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीस सपना मल्ल प्रधान, डा. रिता थापा लगायतका अतिथिले पुरस्कार तथा सिल्ड वितरण गर्नुभएको थियो ।

त्यस्तै प्रथम विजेता बन्न सफल सुष्मा सिग्देललाई प्रभु मेनेजमेन्टका अध्यक्ष कुसुम लामा र क्रियशन सफ्टका अध्यक्ष रणधीर सिंहले संयुक्त रुपमा सिल्ड र स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति भण्डारीले विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस खेलमा महिलाहरूको सहभागिता बढाउन र गल्फ क्लबलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल सरकारले पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि मल्लले विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गल्फ खेलका बारेमा आफ्नो अनुभव व्यक्त गर्नुभयो । उहाँले गल्फ खेल भनेको पुरुष वर्ग, धनी र रिटार्यड लाइफ बिताउँदै गरेकाहरूले मात्र खेल्ने खेल हो भन्ने लाग्थ्यो तर त्यसो नभई यो मानिसको मानसिक र शारिरीक स्वास्थ्यको लागिसमेत उपयोगी रहेको बताउनुभयो । रोयल नेपाल गल्फ क्लबले नजिकै रहेको विमानस्थलबाट हुने प्रदुषणलाई यस गल्फ क्लबको हरियालीले कम गरेकोसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्यका साथै रोयल नेपाल गल्फ क्लबको ईतिहासलाई जोगाउन सरकारले यस क्षेत्रको विकास र संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

महिला खेलाडीहरूको मात्र सहभागीता रहेको उक्त प्रतियोगिताको आयोजना पनि महिलाहरूले नै गरेका हुन् जसमा चर्चित महिला गल्फर प्रतिमा शेर्पा, गल्फर तथा लेडी क्याप्टेन आर्सीया बानु र सञ्चारकर्मी सरीताश्री ज्ञवाली रहनुभएको छ । १०५ वर्षको इतिहास बोकेको रोयल नेपाल गल्फ क्लबको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा ४० भन्दा बढी सिनियर र जुनियर खेलाडीहरूको प्रतिष्स्पर्धामा विभिन्न जिल्लाहरूबाट सहभागीता रहेको थियो । महिलाहरूको गल्फ खेलमा क्षमता विकास र प्रतिभाको प्रस्फुटन गराई महिला गल्फ प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजित उक्त प्रतियोगितामा काठमाडौं, पोखरा, तथा धरानका महिला गल्फरहरूको सहभागीता थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरूले स्कुटरसँगै आकर्षक पुरस्कारहरू प्राप्त गरेका थिए । विभिन्न विधाका विजेताहरूलाई सिल्ड, टर्किस एयरलाइन्सको एयर टिकट, आर्सिया डेण्टल क्लिनिकको तर्फबाट उपहार कुपन, नगद कुपन, महिला विजेतालाई स्कुटर, जुनियर विजेतालाई साइकललगायत विभिन्न पुरस्कार प्रदान गरिएको थियो । प्रतिस्पर्धामा महिला उपविजेता कश्मिरा शाह, लामो दुरीका विजेता प्रतिभा राई, क्लोजेस्ट टु द पिनका विजेता रेखा घिमिरे, सिनियर उपविजेता कल्याणी मोक्तान, सिनियर विजेता रेखा घिमिरे, जुनियर उपविजेता सोनी तामाङ र जुनियर विजेता आइस्टिना टन्डन रहनुभएको थियो । आयोजकको तर्फबाट कार्यक्रममा धन्यवाद मन्तव्य गल्फर तथा लेडी क्याप्टेन आर्सिया बानुले आफूले परिकल्पना गरेता पनि यस कार्यक्रमलाई दुई अनन्य मित्र चर्चित महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरीताश्री ज्ञवालीको सहकार्यले सफल भएको बताउँदै हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

Must View