नागरिक पोष्ट News


महालेखा परीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव सम्पन्न

1K

काठमाडौं - महालेखा परीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव सम्पन्न भएको छ । अनामनगरस्थित कार्यालयमा एक विशेष समारोहका बीच महालेखाको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वजनिक निकायहरूबाट प्रवाह हुने नियमित सार्वजनिक सेवा सुधारका लागि सरकारलाई सुझाव दिन महालेखा परीक्षकको कार्यालय सदैव चनाखो र सक्षम हुनुपर्ने बताएकी छिन् । महालेखा परीक्षकको कार्यालयले विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक क्षेत्रमा हुने गरेको चुहावट रोक्न महालेखा नियन्त्रक कार्यालयले दिने सुझाव सरकारकालाई मननयोग्य हुने बताए । मन्त्री शर्माले सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गर्दै पारदर्शी भएर जनताका लागि सेवा दिन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसारभरि नै जोखिममा आधारित लेखापरीक्षण प्रणाली अपनाइने हुँदा नेपालको सन्दर्भमा पनि सोही प्रणालीकै आधारमा लेखापरीक्षण गरिनुपर्नेमा जोड दिए ।

त्यसैगरी, महालेखा परीक्षक टंकमणि शर्मा दंगालले यसै वर्षदेखि विद्युतीय प्रणालीमा आधारित लेखा परीक्षण विधि अपनाइएको जानकारी दिए । महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ ।

Must View