पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका सम्बन्धि छलफल
- शर्मिला विश्वकर्मा
काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघ अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचना अपाङ्गता मैत्री बनाइनु पर्ने, भनि वकालत तथा पैरवी गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, विभिन्न अवसरहरु, आवगमन, रोजगार, क्षमता अभिवृद्धि तथा नेतृतेव विकास लगायतका सवालहरुमा सक्रिय रुपमा काम गर्दै आएको छ । यै सन्दर्भमा आइतबार १२ गते काठमाडौंमा नेपाल सरकारले २०६९ मा ल्याएको अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका कार्यन्वयनको अवस्था सम्बन्धि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
भौतिक संरचना मात्र अपाङ्गता मैत्री बनाउने नभएर यातायात, सार्वजनिक स्थान, भवन, सम्बन्धित निकायहरुले दिने सेवा सुविधाहरु पनि अपाङ्गता मैत्री बनाउन जरुरी रहेको भनी छलफल गर्दै गर्दा भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागका सिनियर डिभिजना इन्जिनिएर वेदबहादुर भुजेलले राज्यका सबै संरचनाहरु अपाङ्गता मैत्री बनाइनु पर्ने भन्दै अबका दिनमा राज्यले ल्याएको भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ लाई कार्यन्वयन गर्न, भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो । कार्यक्रममा भौतिक संरचनाका सवालमा स्क्वायर यूनिट प्रा.ली.का तर्फबाट इन्जिनियर आशिष अभिकारीले पहुँचयोग्य लेखापरीक्षण ( Accessibility Audit ) का विषयमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासन कार्यक्रम प्रवन्धक मनिष प्रसाईले पहुँचयुक्त संरचनाको नीति र अभ्यासका विषयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्द्धन शाखा प्रमुख तथा उपसिचव जमुना मिश्रले सोही मन्त्रालयले ल्याएको अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यन्वयनका सवालमा र आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले पहुँचयुक्त भौतिक संरचनाका लागि यस संस्थाले स्थापनाकाल देखि नै काम गर्दै आएको भन्दै Glimpse of NAPD Nepal and Accessibility /code को विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्न र पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ लाई कार्यन्वयन गर्न सरोकारवाला निकायहरुलाई झक्झक्याउनु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले राज्यका सबै सरकारी कार्यलयहरु तथा सडकहरु अपाङ्गता मैत्री बनाउने सन्दर्भमा आगामी दिनमा शहरी विकास मन्त्रालय तथा सम्बन्धित निकायहरुसँग छलफल गर्ने र यस सवालमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि बताउनु भयो । त्यसै गरी आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचना निर्माणका लागि काम गर्नुका साथै जनचेतना जगाउने, अपाङ्गता रोकथाम गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत पुनर्स्थापना, क्षमता विकास, नेतृत्व विकास लगायतका सवालमा पनि संस्थाले काम गर्दै आएको बताउनु भयो । साथै आगामी दिनमा राज्यले भौतिक संरचना सम्बन्धी ल्याएका नीति नियम, ऐन कानून तथा निर्देशिकाहरुको पूर्ण रुपमा कार्यन्वयनका लागि आवश्यक सहयोग गर्ने कुरामा पनि जोड दिनु भयो ।
त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्द्धन शाखा प्रमुख तथा उपसचिव जमुना मिश्रले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकामा उल्लेख भए अनुसार पूर्ण रुपमा यो निर्देशिका कार्यन्वयन नभएको हुदा अबका दिनमा यो निर्देशिकालाई परिमार्जन गर्ने तयारी भैरहेको जानकारी गराउनुका साथै अपाङ्गता भएका व्यक्तिहरुका हरेक सवालहरुलाई मन्त्रालयले संवोधन गर्दै आएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले सबै निकायका भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउनका लागि बाध्यकारी कानून बन्नु पर्ने, सबै निकायहरुले यस सन्दर्भमा बनेका नीति नियम तथा कानून र निर्देशिकाहरुको पालना गरेमा अपाङ्गता मैत्री भौतिक संरचना निर्माणमा कुनै चुनौती नहुने भन्दै पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को कार्यन्वयनका लागि सबैले साथ दिनु हुन आग्रह गर्नु भयो ।