नागरिक पोष्ट News


स्थगित भएको हेटौँडाको नगरसभा आज

1K

हेटौंडा -  आवश्यक गणपूरक संख्या नपुगेपछि शुक्रवार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार हुँदै छ । नगर सभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रवारको लागि तोकिएको नगरसभा आइतबार गर्ने गरी स्थगित भएको थियो ।

एमालेबाट निर्वाचित नगरसभा सदस्य शुक्रवार सभा स्थलमा उपस्थित भएर पनि हस्ताक्षर नगरी बाहिरै बसेका थिए । आइतबार दिउँसो १ बजेका लागि सभा बोलाइएको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौँडाको पहिलो कार्यपालिका बैठकदेखि नै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा ९एस० की नेतृ मेयर मीनाकुमारी लामालाई असहयोग गर्दै आएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ ९२० र १५ ९३० मा रहेको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।

एमालेले नगर सभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध गरेको हो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन् । नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरी पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

यता हेटौंडा उपमहानगरपालिकाका मेयर लामाले जनताको हितमा भन्दा पनि मेयरको अधिकार कटौतीमै एमाले केन्द्रित हुँदा समस्या बढेको प्रतिक्रिया दिँदै आइतबारको नगर सभामा सहभागी हुन सबैलाई अनुरोध गरेकी छिन् । आफूहरू हेटौँडालाई समृद्ध बनाउन आएको भन्दै उनले हेटौँडाको विकास र हितका लागि सोही अनुसारको निर्णयसहित नीति र कार्यक्रम पास गरेर अघि बढ्न अनुरोध गरिन् ।

Must View