नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकालाई सुझाव दिन, असार ११ र १२ गते बृह्त नागरिक सभा हुँदै

1.3K

काठमाडौँ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकामा आगामी असार दोस्रो साता नागरिक सभा आयोजना हुने भएको छ ।

स्थानीय संस्था नर्थ काठमाडौंले नगरवासीबीच जनसरोकारका विषयमा अन्तरक्रिया गरेर नगरपालिकाका जनप्रतिनिधिमाझ विकास निर्माणसहित सामाजिक मुद्दालाई लैजान असार ११ र १२ गते नागरिक सभा गर्न लागिएको बताइएको छ ।

सभामा नगरपालिकाका ११ वटा वडाबाट छानिएका बढीमा ५५ जना स्थानीय बासिन्दाको समावेशी सहभागिता रहने आयोजकले जनाएको छ ।

सभाले सहभागितामूलक विकास तथा पारदर्शी शासन व्यवस्थाबारे नवनिर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराउने तयारी गरेको सभाका संयोजक श्रीराम फुटुङेले जानकारी दिए ।

संस्थाले अघिल्लो शनिबार पत्रकार सम्मेलन गरी नागरिक सभाको तयारी तथा उद्देश्य लगायत विषयबारे जानकारी गराएको छ । नर्थ काठमाडौंकाअनुसार, जनसरोकारका विषय तथा नगरवासीका प्राथमिकताबारे नागरिकस्तरमा विचार–विमर्श गर्न लागिएको हो । सभाले तयार पार्ने नीति पत्र नगरपालिकालाई बुझाइने संस्थाले जनाएको छ ।

स्थानीय अगुवाहरुको सक्रियतामा स्थापना भएको उक्त संस्थाले स्थानीय तह निर्वाचन अघि विभिन्न दलका उम्मेदवारहरुसँग उनीहरुको प्रतिबद्धता लगायत विषयमा अन्तरक्रिया गरेको थियो ।

नागरिक सभामा कुनैपनि राजनीतिक दलमा आवद्ध नभएका नागरिकहरुले यस क्षेत्रको विकासमा आफ्ना सुझावहरूले कार्यक्रममा सहभागिता जनाउन सकिनेछ । अनलाइन फर्म भर्न छुटेका नागरिकहरुका लागि पनि सभामा सहभागि हुने व्यवस्था मिलाउन आयोजक संस्था लागेको छ ।

कार्यक्रममा तारकेश्वरका स्थानीय प्रकाशनहरुलाई पनि स्टलमा राख्ने व्यवस्था गरिएको छ । नर्थ काठमाडौं विकास अभियानले जारी गरेको सूचनामा यहि असार ९ गतेसम्म आयोजकको कार्यालयमा उक्त प्रकाशनहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

 

 

 

 

Must View