फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने - अभिनेता हमाल
काठमाडौँ – अभिनेता राजेश हमालले मिडियाको सशक्तताले आकर्षण गरेको बताएका छन् । अभिनेता हमालले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । चलचित्र पत्रकारिताले चलचित्रको जुन सोच र सिर्जनाको सामाग्री पस्किने विचार राखे । ‘फिल्म आफैँमा एउटा सशक्त मिडिया हो । यसले धेरै व्यक्तिलाई प्रभावित पार्न सक्छ । एउटा फिल्म राम्रो बनेको छ भने त्यसले हेर्ने दर्शकको सोचलाई समेत परिवर्तन गर्ने संवाहक बन्छ । त्यसको माध्यम चलचित्र पत्रकारिता बन्ने भएकाले पनि मलाई यस क्षेत्र प्रति लगाव छ’ अभिनेता हमालले भने ।
उनले पछिल्लो समय डिजिटल प्रविधि बढेसँगै आइरहेको नयाँ नयाँ माध्यममा विश्वसनीयता बढाउने चुनौती औँल्याए । ‘अहिले सामाजिक सञ्जाल, युट्युब, टिकटक, अनलाइन पोर्टल लगायतका नयाँ माध्यमहरू छन् । जहाँबाट पनि सूचना लिन सकिन्छ । यद्यपि विश्वसनीयता बढाउने दायित्व भने पत्रकारको हुन्छ । हतार नगरौँ र विश्वसनीय खबर दिने गरौँ’ उनले भने ।
उनले चलचित्र पत्रकारिता मोफसलमा समेत बढिरहेकोमा खुसी व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपालले तीन वर्षकै पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेको थियो । दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव समारोहमा २०७७, ७८ र ७९ सहित १६ पत्रकारले सम्मान , पुरस्कार , प्रोत्साहन पुरस्कार , मोफसल पत्रकारिता पुरस्कार लगायत प्रदान गरिएको थियो ।