नागरिक पोष्ट News


नेप्से १९९६.२५ विन्दुमा : यसरी गुमाए शेयर बजारमा लगानीकर्ताले साढे ११ खर्ब रकम

1.1K

काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झर्‍यो । ३६.०७ अंकले घटेर बजार १९९६.२६ बिन्दुमा आएर रोकिंदा कारोबार रकम १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ मात्रै भयो । मंगलबारको बजार परिसूचक १७ मंसिर २०७७ कै दिनको हाराहारी हो ।

बजारमा लगानीयोग्य नगदको अभाव हुनु र बैंकहरुले सेयरमा गर्ने लगानी कटौती गरेसँगै सेयरबजार २ हजारको बिन्दुबाट पनि तल ओर्लिएको छ । २ भदौ २०७८ का दिन नेपाली सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुग्यो । सो दिन नेप्से परिसूचक ३ हजार १ सय ९९ बिन्दुमा पुगेको थियो । सेयर बजारमा उछाल आइरहेका बेला बजारप्रति आम लगानीकर्ताको मनोबल र लगानी पनि बढ्दै गयो । जसका कारण दैनिक सेयर कारोबार अधिकतम २२ अर्ब रुपैयाँसम्म पुग्यो । २ भदौमा उच्च बिन्दुमा पुगेको सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको लगानीको मूल्य ४० खर्ब १० अर्ब थियो । तर, बजारमा आएको उच्च गिरावटका कारण उनीहरुको सम्पत्ति पनि अवमूल्यन हुने क्रम बढेको छ । सेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार केही स्टकको मूल्य ७० प्रतिशतसम्म घटेको छ ।

कुल बजार पूँजीकरण घटेर २८ खर्ब ४४ अर्बमा झरेको छ । यस अवधिको नैरस्यतापूर्ण दोस्रो बजारको ९ महिना २८ दिनको अवधिमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब ६६ अर्ब गुमिसकेको छ ।

लगानीकर्ताहरुका अनुसार घटेको बजारले गर्दा सेयर धितो राखेर कर्जा लिएका लगानीकर्ता ठूलो मारमा परेका छन् । कर्जा लिएको सम्पत्तिको धितोबापतको सेयरको मूल्य औसतमा ४० प्रतिशत भन्दा बढीले घटेका कारण बैंकको दवामा लगानीकर्ता परेको अर्का एक लगानीकर्ताले बताए । सेयर धितो सल्टाउन अन्तिम विकल्प रहेको जग्गा राखेर धितो सकार्ने उपाय समेत भू–उपयोग नीतिले रोकेपछि लगानीकर्तामा ठूलो नैरश्य पैदा भएको उनको भनाइ छ ।

Must View