पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीवार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटरको ८ रुपैयाँ तथा प्रतिलिटर मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको बताएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले फेरि बढाएको हो । सरकारले गत जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
अव नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । निगम सञ्चालक समितिले अन्तरराष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको इण्डियन आयल कर्पोरेसन(आईओसी) लाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको भन्दै मूल्य बढाउने निर्णय गरेको हो ।