नागरिक पोष्ट News


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता (पूर्ण पाठसहित)

1.1K

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको अवधिमा कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुपथ मूल्य पसल, प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका महत्वपूर्ण योजनालाई भने समेट्न सकेको छैन । प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिँदै विभिन्न नारामा कार्यक्रमहरु ल्याएको छ । ‘प्रदेश सरकार, कृषिको अभिभावक’ भन्ने नाराका साथ कृषि उपजको उत्पादन, लागत तथा जोखिम घटाउन कृषकलाई यन्त्र, उपकरण, उन्नत बिउ, बेर्ना, नश्ल, मलखाद, सिंचाई, नवीनतम प्रविधि, तालिम, प्राविधिक सहयोग, बाली तथा पशु बिमाको प्रिमियम शुल्क, कृषि ऋणको व्याज, विद्युत महसुल र भन्सार महसुलमा अनुदानको व्यवस्था गरी सहज र सर्वसुलभ रुपमा उपलब्ध गराइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रममा कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम अवधारणाको माध्यमबाट कृषि उत्पादन बृद्धि गरिने जनाइएको छ । कृषिजन्य वस्तुको प्रतिस्थापन, निर्यात प्रवर्द्धन र खाद्य तथा पोषणा सुरक्षा प्रत्याभूत गराउन कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । ‘आजको लगानी बोट, भोलिको प्रतिफल नोट’ भन्ने नाराका साथ फलफूल बगैंचा स्थापना र फलफूल विरुवा रोपण अभियान सञ्चालन गर्ने सरकारको योजना छ । जसअन्र्तगत बिरुवा स्याहार बापत किसानलाई प्रोत्साहन दिने, प्रमुख राजमार्ग, सहायक राजमार्ग, हुलाकी सडक र अन्य स्थानीय सडक आसपासका क्षेत्रमा व्यावसायिक खाद्यान्न, फलफूल र उच्च मूल्यका बस्तुको खेती गर्न प्रोत्साहन गरिने उल्लेख छ ।

Must View