नागरिक पोष्ट News


कबड्डी ४ ले पहिलो दिनमै २ करोड ९० लाख कमायो

1.2K

काठमाडौं -  कथानक चलचित्र ‘कबड्डी’को चौंथो श्रृंखलाले बक्सअफिसमा ओपनिङमा नयाँ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमाएको छ ।  नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो ।

यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । निर्माता मणिराम पोखरेलका अनुसार उक्त ओपनिङमा काठमाडौं र मोफसलको ओपनिङ हिस्सा झन्डै बराबर छ । प्रतिक्षित सिरिज भएकाले पनि फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो । शुक्रबार अकुपेन्सी करिब शतप्रतिशत रह्यो । मल्टिप्लेक्समात्र नभएर सिंगल स्क्रिन पनि पूर्ण अकुपेन्सी सहित संचालन भए । दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ ।

बिहानैदेखि हलमा दर्शकहरुको भीडभाड रहेको छ । चर्चित सिक्वेल, स्टारकास्ट, देशभर हल विस्तार हुनुजस्ता कारणले कबड्डी चारको ओपनिङ आक्रामक भएको जनाइएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनित फिल्म अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ रिलिज भएको छ । रिलिज अघि नै लगानी सुनिश्चित गरिसकेको फिल्मले विदेशबाट मात्र २ करोड रुपैयाँ कमाइ गरेको छ ।

Must View