नागरिक पोष्ट News


मर्ज हुँदा इन्स्योरेन्सका कर्मचारीलाई तनाव

1K

काठमाडौं - आजकाल बीमा कम्पनीहरूमा काम गर्ने कर्मचारीहरू काम कम गफ धेरै गर्न थालेका छन् ।

उनीहरूको आजकल गफको विषय एउटै हुन्छ पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरूबीच हुन थालेको बिग मर्जर ।

बीमा कम्पनीहरूले मर्जरको प्रक्रिया अगाडि बढाइरहँदा कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई भने मर्जरपछि आफ्नो जागिर के होला र भविष्य कस्तो होला भन्ने कुराले तर्साएको छ ।

नेपाल जस्तो बेरोजगारीले ग्रस्त भएको देशमा सामान्य जागिर पाउन त मुस्किल पर्छ आफूले सोचेको जस्तो जागिर पाउन त झन् सपनाकै कुरा भयो । त्यसैले अहिले इन्स्योरेन्समा काम गर्ने कर्मचारीहरूलाई जागिरको डरले सताएको छ ।

पछिल्लो समय पूँजी वृद्धिका लागि बीमा समितिले बीमा कम्पनीहरूलाई मर्जरको बाटो खोलिदिएको छ । समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू समेत थपेको छ ।

बीमा समितिको चैत्र १० गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको छ ।

यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

बीमा समितिले बलियो पूँजी भएका, उच्च जोखिमभार उठाउन सक्ने, गुणस्तरीय सेवा प्रदान गर्ने बीमा कम्पनीहरुको संख्या बढाउने मनसायले धेरैवटा कमजोर कम्पनीहरु हुनुभन्दा बरु संख्या कम होस् बलिया कम्पनीहरुको उपस्थिति होस् भन्ने उद्धेश्यसहित मर्जरलाई जोड दिइएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताउँछन् ।

Must View