नागरिक पोष्ट News


मंकीपक्स भाइरस फैलिँदैछ, कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने विशेषज्ञहरुको चेतावनी

1.4K

काठमाडौं । कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ ।

चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

नेपालका संक्रामक रोग विशेषज्ञहरु उक्त भाइरसले स्वरुप परिवर्तन गरेको आंकलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गर्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मंकीपक्स भाइरस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

Must View