स्थानीयवासीको अवरोधकै कारण काठमाडौंको फोहोर व्यवस्थापनमा सकस
काठमाडौं - काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफरस्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न नदिएपछि काठमाडौंका प्रत्येक चोकमा फोहोरको डंगुर मात्र छैन, दुर्गन्धसमेत फैलिएको छ ।
काठमाडौं महानगरपालिकाले पहिलो चरणमा संकलन भएको फोहोर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिक रूपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ । लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।
यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए । यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्र ४२ दिन फोहोरको व्यवस्थापन हुन सकेको थिएन । नियमित पानी पर्न शुरू भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।