नागरिक पोष्ट News


स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन राष्ट्रिय मानव अधिकार आयोगले गर्ने

798

काठमाडौं  - राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ ।  बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताउनु भयो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने बताउनु भयो । उहाँले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरूमा निर्वाचन पूर्व पनि  अनुगमन हुने उल्लेख गरे ।आयोगले उम्मेदवारी मनोनयन दर्ताको दिन बैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको उनले जानकारी दिए ।

अनुगमनका क्रममा आयोगले विगतको तुलनामा महिलाहरुको उम्मेदवारीमा कमी देखिएको, समावेशी समूहबाट कम उम्मेदवारले मनोनयन दर्ता गरेको, बालबालिकालाई जुलुसमा लगिएको, मतदाता शिक्षाको प्रचार प्रसार नगरिएको तथा दलका नेताहरुले एक अर्काप्रति घृणायुक्त अभिव्यक्ति दिनु लगायतका कमी कमजोरी देखिएको बताएको छ । आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

Must View