नागरिक पोष्ट News


निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

672

काठमाडौँ - निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । 

आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको छ । चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौँ,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव  यज्ञ भट्टराईले भने । 

केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको उनले बताए । 

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको  ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै  ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए । 

आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो । 

‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबीस घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने । 

पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने उनले जनाए ।

Must View