शिवसताक्षी अनलाईन गायन प्रतियोगिता सिजन २ को फाईनलमा ६ जना
काठमाडौं - गीत संगीतको माध्यमबाट नेपाली लोक संस्कृतीको जर्गेना गर्ने मात्र नभएर श्रोता दर्शकमाझ सन्देश प्रवाह गर्न पनि सकिन्छ । नेपाली गीत संगीतको विशेषता भनेकै आफ्नै मौलीकता हो ।
पछिल्लो समय गीत संगीत सबैको मन मुटुमा बस्न सफल भएको छ । पक्कै पनि प्रकृती देखी मानव स्पन्धन सम्म संगीत लुकेको पाइृन्छ । नेपाली संगीतमा प्रयोग गरिने बाजा, वर्णन गरिने विषयवस्तु, प्रयोग गरिने टिपिकल शब्द जस्ता विविध विशेषताका कारण संगीतको बेग्लै महत्व रहने गर्दछ। यसैक्रममा, पछिल्लो समय कोरोना महामारीका कारण लकडाउन भएसंगै एकपछि अर्को गर्दै विभिन्न तरिकाबाट गायन प्रतियोगिताहरु भईरहेका थिए। जसका कारण गुम्सिएर बसेका नवप्रतिभाहरुलाई प्रष्फुटित हुने अवसर सिर्जना गरी नेपाली मौलिक कलासंस्कृति, पर्यटन एवं राष्ट्रियताको प्रवद्र्धनका साथै कोरोना महामारीसंग जुध्न सचेतना फैलाउन समेत सहयोग पुगेको छ ।
त्यती मात्रै नभएर यस्ता खालका प्रतियोगिताहरुले दर्शकहरुको मन जित्न सफल भएको छ । यसैबिच, बोलोचोक बिकास समितिले गत बर्ष सम्पन्न भएको अनलाईन गायन प्रतियोगिता २०७७ को सफलतापछि शिवसताक्षी अनलाईन गायन प्रतियोगिता २०७८ सिजन २ पनि शुरु गरेको थियो । उक्त प्रतियोगिताको फाईन राउन्डको भिडियोहरु शुक्रबार सार्वजनिक गरिएको छ । २०७८ को सिजन २ मा ३ हजार ५ सय ७८ जनामध्यबाट तुलसा सिवा, सुनिता राई, मेघराज चौहान, शुनिल बिष्ट, नबिन सुनार र साजन लिम्बु फाईन राउन्डमा पुग्न सफल भएका छन् ।
घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्नका साथै लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले अनलाईन प्रतियोगिता सुरु गरिएको समितिका अध्यक्ष एवमं संयोजक डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिए । भिडियो बोलोचौक बिकास समितिको अफिसियल फेसबुक पेज र डि एस नेपालको युट्युव च्यानलमा सार्वजनिक भएको उनले जानकारी दिए । साथै उनले फाइनल राउन्ड सम्म आइपुग्न सफल सम्पूर्ण सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उक्त प्रतियोगितालाई सफल बनाउनका लागि राजबत्ती ताजपुरीया, भरत महतरा, बिना कडेल मैनाली, मन्जु ताजपुरीया, प्रिती भुजेल र मायालु लामाले प्रायोजन गरेका छन् भने गायक तथा संगितकार मानदेव ताजपुरीया, गायिका सुमिना लो तामाङ र गायिका मिना नेपाली मण्डल जजहरु रहेका छन् । प्रतियोगीले घरबसी आफ्नो भिडियो समाजिक संजाल ईमेल मार्फत प्रतियोगितामा भाग लिएका थिए । सहभागीमध्येबाट उत्कृष्टको छनोट गरिने र उनीहरुबीचको प्रतिस्पर्धाबाट विजेता घोषित गरिने आयोजकले जनाएको छ।
युट्युवमा अपलोड भएका भिडियोको भ्यूअर, भ्यूयर्स समय, लाईक र कमेन्टका आधारमा ५० प्रतिशत ,जजद्वारा ४० प्रतिशत र आयोजकद्वारा १० प्रतिशतको आधारमा प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो छनोट गरी पुरस्कार दिने आयोजकले जनाएको छ। असार २८ गते राति १० बजेसम्मको युट्युवमा भएको भिडियोको भ्यूअर, लाईकको आधारमा प्रतियोगीको उत्कृष्ट छनोट गरिने आयोजकले बताएको छ ।
प्रतियोगितामा विजयी हुने पहिलो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, चाँदीको मेडल, प्रमाणपत्र र गितार, दोस्रो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, २१ सय रुपैंया, चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी, तेस्रो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
सायदै, सबैलाई बुझ्न कठिन नहोला, गीत संगीत नेपालको एउटा पहिचान नै बनिसकेको छ । नेपालको कुनाकन्दरासम्म र विश्वको जुन–जुन ठाउँमा नेपालीहरू छन् त्यहाँ नेपाली गीत संगीत घन्किरहेकै पाईन्छ। आगामी दिनमा नेपाली भाषामा हाम्रो गीत–संगीतको विषयमा अनिवार्य पढाइ हुन सके आउने पुस्ताहरूलाई नेपाली गीत संगीतको ज्ञान दिन सके उनीहरूले गीत संगीतलाई जगेर्ना गर्न सक्ने देखिन्छ ।
लामो इतिहास बनाइसकेको नेपाली सांगीतिक क्षेत्र अझै पूर्ण रुपमा व्यवसायिक बन्न सकेको देखिदैन । विगतमा जस्ता कालजयी गीत नेपाली सांगीतिक क्षेत्रमा आउन नसकेका गुनासो हुन थालेको छ । यि गुनासोलाई चिर्नका लागि नयाँ जोशका साथ संगीतकर्मी अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ ।अहिले नयाँ पुस्ताको आर्कषण यस क्षेत्रमा देखिदा निकट भविष्यमा नै सांगीतिक क्षेत्रको उचाई बढ्न सघाउने आशा भने गर्न सकिन्छ ।
त्यसैका कारण आगामी दिनमा नेपाली गितसंगितमा थौरै भएपनि सहयोग गर्ने उद्देश्यले उक्त प्रतियोगिता संञ्चालन गरिएको आयोजकले जनाएको छ ।