नागरिक पोष्ट News


श्रीराम फुटुङ्गेको फुटुङ्ग ; इतिहास, संस्कृति र विकास नामक पुस्तक सार्वजनिक

1.3K

काठमाडौं - काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नु भएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा। डा राजेस गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्नपक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो ।

पुस्तक प्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा।डा। केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमालिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो ।

विमोचन कार्यक्रममा बोल्दै साहित्यकार लब गाउँलेले लेखक फुटुङ्गेको अधिक मेहनतले यो पुस्तक प्र्रकाशन सम्भव भएको सुनाउनुभयो । उहाँले आफ्नो ठाउँलाई युवा उमेरदेखि नै चिनाउन विभिन्न प्रयास गरेको पनि गाउँलेले उल्लेख गर्नुभयो । कार्यक्रममा मनमैँजु साँस्कृतिक समाजका साहित्य विभाग प्रमुख डा।घनश्याम पुडासैनीले पुस्तकको सफलताको कामना गर्दै लेखको सम्पादकीय सीप र गैरआख्यान लेखनबारे विशिष्ट ज्ञान भएको आफूले पाएको बताउनुभयो । उद्यमी एवं समाजसेवी हरिकृष्ण रावलले फुटुङ्गलाई चिनाउन यो पुस्तकले थपमदत गर्ने बताउँदै लेखकको प्रयासको सराहाना गर्नुभयो ।

संस्कृतिकर्मी भक्तीनारायण महर्जनले पुस्तकले नलेखिएका सांस्कृतिक पक्षहरु पुस्तकमा आउनु विशेष रहेको बताउनुभयो । विमोचनका अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत शिव प्रसाद लम्सालले पुस्तकमा अत्यन्तै मेहनत परेको र आगामी दिनमा अन्य कृतिहरु प्रकाशनका लागि क्रियाशील हुन लेखकलाई सुझाउनु भयो । पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गेको भनाइ छ । उहाँकाअनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो । पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः शहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघ संस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, वस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ । लिच्छवि कालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातिय विविधता सहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ । काठमाडौं उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो । त्यस्तै, उनीहरुको परम्परा र गुठी सम्वन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकाल देखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहल सम्वन्धी विवरण पुस्तकमा समेटिएको छ ।

पुस्तकअनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् । कुनै समय कृषि पेशा अंगाल्ने यस क्षेत्रका बासिन्दाहरुको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्व दिएको छ । त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण ६ दशकको रूपमा चित्रण गरिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन सँगै भौतिक विकासमा भएका उपलव्धि तथा सामाजिक संघ संस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्वपूर्ण पहल भएपनि निरन्तरताको अभाव भएको यथार्थलाई औंल्याएको छ ।

फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथानिजी घर र आवासमाभएको वृद्धि र शहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङ्गको स्थानीयविकास, कला संस्कृति र शैक्षिक–सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको परिचय र कथालाई पुस्तकमा उतारिएको छ । भौतिक पूर्वाधारमा अघि बढेपनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्व दिन खोजिएको छ ।

स्थानीय चुनावको सन्र्दभमा आएको यस्तो सूचिले दलहरुलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ । विमोचन कार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिक दलका प्रतिनिधि एवम् संचारकर्मी गरी करिब १ सय ५० जना व्यक्तित्वको सहभागिता थियो । पुस्तक विमोचनका अवसरमा पुस्तकमा चर्चा गरिएका स्थानीय समुदायको परम्परागत बाजा तथा लोक भजनको समेत प्रस्तुति थियो । फुटुङ्गमा गरिएको पुस्तक विमोचन यो पहिलो हो ।

Must View