बिहानै परेको पानीले शहर जलमग्न, यी ठाउँमा सतर्कता अपनाउन अनुरोध
काठमाडौं, वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार आसपास क्षेत्र जलमग्न बनेको छ । शनिबार अपराह्नको वर्षापछि स्थानीय पुण्यमाता खोलामा बाढी आउँदा बजार क्षेत्र जलमग्न बनेको हो । आज काभ्रेका बनेपा, धुलिखेललगायत स्थानमा ठूलो वर्षा भएको बताइएको छ ।
सतर्कता अपनाउनु
देशका केही स्थानमा आज वर्षा भएको छ । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार साँझ सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तै, पश्चिम तराईका भूभागहरूमा तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
तस्बिर : कान्ति दोङको फेसबुकबाट ।