नागरिक पोष्ट News


अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य सवालमा अन्तरक्रिया

2.1K

- शर्मिला विश्वकर्मा

काठमाण्डौं । पहिचान नेपाल नेपाल अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनश्चित गर्ने उदेश्यले स्थापना गरिएको एक गैरसरकारी संस्था हो । यस संस्थाले विशेष गरी दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुका लागि विभिन्न तालिम, जनचेतनाका कार्यक्रमहरु, अपाङ्गता भएका महिलाहरुका सवालमा भएका ऐन कानून तथा नीति नियमहरुका विषयमा अन्तरक्रिया गर्दै आएको छ । यसै संस्था पहिचान नेपालले वमेन फाउण्डेशन एसियाको सहकार्यमा अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र हक अधिकाको विषयमा यही चैत्र १५ गते देखि १७ गते सम्म ३ दिन भक्तपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको पहिलो दिन आयोजक संस्था पहिचान नेपालकी अध्यक्ष ईच्छा के.सी.ले पहिचान नेपालले अहिले सम्म अपाङ्गता भएका महिलाहरुका लागि राहत वितरण, आर्थिक सहयोग, विउपुँजी वितरण, विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।

त्यसै गरी वरेक नेपालकी प्रशिक्षक इलावती के.सी.ले अपाङ्गता भएका महिलाहरुको लैङ्गीक समानता, प्रजनन् स्वास्थ्य र हक अधिकाको संवोधनका विषयमा प्रस्तुतीकरण गर्नु भयो भने नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, कानूनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस प्रस्तुतीकरणमा उहाँले अपाङ्गता परिचय पत्र कसरी बनाएने, अपाङ्गता भएका महिलाहरुले के कस्ता हिंसा भोग्न बाध्य भएका छन्, उनीहरुको न्यायका लागि कहाँ र कसरी उजुरी गर्न सकिन्छ, संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा भएका व्यवस्थाहरु लगायतका विषयमा छलफल गराउनु भएको थियो । त्यसै गरी कार्यक्रमको दोस्रो दिन अर्थात चैत्र १६ गते अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले अपाङ्गता भएका महिलाहरुको स्वास्थ्यमा देखिएका चुनौतीहरु, प्रजनन् स्वास्थ्यका सवालहरु र व्यवस्थापनका विषयमा प्रष्ट पार्नु भयो ।

कार्यक्रमका सहभागी रोशनी राइले महिनावारीका समयमा प्रयोग गरिने प्याड निःशुल्क ृपलब्ध हुने पर्ने, अमला महर्जनले शौचालयहरु सफा नहुदा, पानीको व्यवस्थापन नहुदा कठिनाई भोग्न परेको सिता शाहले दृष्टिविहिन महिलाहरुलाई प्याड प्रयोग गर्ने सवालमा तालिम दिनु पर्ने बताउनु भएको थियो । त्यसै गरी पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले प्रजनन् स्वास्थ्यका सवालमा स्वास्थ्य निकायहरुबाट विभिन्न सेवा लिन कठिनाई भएको बताउनुका साथै उहाँले यस अन्तरक्रियाको तेस्रो दिन अपाङ्गता भएका महिलाहरुको समानताको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यसै क्रममा उहाँले अपाङ्गता भएका महिलाहरुले लिङ्गको आधारमा विभेद भोग्न परेको भन्दै यस्ता विभेद अन्त्यका लागि सबै सरोकारवाला निकायहरुले आवाज उठाउनु पर्ने बताउनु भयो । यस कार्यक्रममा परिवार नियोजन संघ जडिबुटी शाखामा कार्यरत स्टाफ नर्स सत्य भण्डारीले परिवार नियोजन, सुरक्षित मातृत्वका विषयमा प्रस्तुतीकरण गर्नुका साथै परिवार नियोजनका केही अस्थाई साधनहरुको परिचय गराउदै यसको उपयोगका विषयमा जानकारी गराउनु भयो । साथै उहाँले महिनावारीका समयमा अपनाउनु पर्ने सावधानी, व्यवस्थापनका विषयमा पनि प्रष्ट पार्नु भएको थियो । सो ३ दिने कार्यक्रममा न्यून तथा पूर्ण दृष्टिविहिन र शारीरिक अपाङ्गता भएका ३१ जना अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको थियो ।

Must View