नागरिक पोष्ट News


जनकपुरधाम आइपुग्यो नेपाली रेल, जनकपुरधाममा भव्य स्वागत

1K

काठमाडौं । लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ शृङ्गारिएको रेल जयनगरबाट खुलेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेसनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए ।

रेल जनकपुरधामस्थित रेल्वे स्टेसन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेसनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै  नियमित रेल सेवा सञ्चालन हुनेछ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडा दर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ ।

Must View