चितवनमा आठ फार्ममा बर्डफ्लु भेटियो
चितवन।चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका-२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी-१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी-३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए ।
बर्डफ्लु रोग नियन्त्रणका लागि बर्डफ्लु भेटिएका फार्म आसपासका पक्षी तथा पक्षीजन्य सामग्री पनि नष्ट गर्ने निर्णय गरिएको हो । बर्डफ्लु नियन्त्रण समितिका सदस्यसमेत रहेका न्यौपानेले फार्म आसपासमा इडिट टिमलाई उपयुक्त लागेको स्थानसम्मका पक्षी नष्ट गर्ने बताए । पशु सेवा विभागको पत्रानुसार समितिले उक्त निर्णय गरेको हो ।
प्रभावित क्षेत्रभित्र बर्डफ्लु नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय भएको छ । त्यस्तै, पक्षी र पक्षीजन्य सामग्री नष्ट गर्दा नोक्सानी व्यहोरेका व्यक्तिलाई राहतका लागि कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुरोध गर्ने र बर्डफ्लु नियन्त्रणमा खटिने जनशक्तिको स्वास्थ्य निगरानीका लागि स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय भएको छ ।