पत्रकार महासंघको ६७ औं स्थापना दिवस
काठमाडौँ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस आज परेको छ ।
स्थापना दिवसको अवसरमा महासंघ केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् । आज केन्द्रिय समितीको आयोजनामा प्रभातफेरीलगायतका कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । काठमाडौंको सिनामंगल चोकदेखि केन्द्रिय कार्यालय सञ्चारग्रामसम्म प्रभातफेरी गरिएको छ ।
यस्तै महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर सन्चालन हुने महासचिव पुरीले जानकारी दिए । जस अन्तरगत मृगौला परीक्षण, दन्त परीक्षण र रक्तदान कार्यक्रम हुनेछन् । दिउँसो भने नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार तथा सञ्चार माध्यममा कोभिड १९ को प्रभावका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विपुल पोख्रेलले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको उल्लेख गरेका छन्। उनले प्रेस स्वतन्त्रता र श्रमजिविको सवाललाई केन्द्रविन्दुमा राखेर महासंघ काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।